राष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यबाट सुविधा लिने सबैको तलब रोकियो,,, हेर्नुहोस्।

1 min read

राज्य कोषबाट सुविधा लिने राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै व्यक्तिको तलब, भत्ता, पेन्सनलगायतका सुविधा रोकिएको छ। मन्त्री, संघीय तथा प्रदेशसभाका सांसदहरु, निजामति कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत सबैको साउन महिनाको तलब वितरण गर्न ढिलाइ भएको हो।

सामान्यतया महिनाको २६ गतेभित्र तलबभत्ता पाइसक्ने भए पनि साउन महिनाको तलब शुक्रबार(भदौ १२) भइसक्दा सीमित कर्मचारीले मात्र प्राप्त गरेका छन्।

समयमै तलब नआउँदा कर्मचारी तथा सांसदहरु दैनिक खर्च नभएको गुनासो गर्न थालेका छन्। राष्ट्रियसभाका सांसद रामचन्द्र राईले शुक्रबारसम्म तलब नपाएको बताए। उनले भने, ‘खै अहिलेसम्म तलब आएको छैन। बैंकमा फोन गर्दा सिस्टम मिलाउँदै छौं। केही दिन लाग्छ भनेका छन्।’

नेपाल प्रहरीका एक उच्च अधिकारीले पनि शुक्रबारसम्म तलब नबाँडिएको बताए। ती अधिकारीले भने, ‘यसअघि महिना नसकिँदै तलब आउँथ्यो तर यसपटक आएको छैन। सिस्टममा मिलाउँदै छौं भन्ने जानकारी पाएका छौं।’

संघीय संसदअन्तर्गतका केही कर्मचारीले बिहीबार तलब पाए पनि अधिकांशले पाएका छैनन्। आधिकारिक ट्रेड युनियका अध्यक्ष मेघराज अर्यालले नयाँ लेखा प्रणालीको सुरुवात गर्दा तलब आउन ढिलाइ भएको आफूले जानकारी पाएको बताए।

‘धेरै साथीहरुले तलब नआएको बताएपछि मैले महालेखा नियन्त्रकको कार्यालयमा बुझेको थिए। नयाँ लेखा प्रणालीको सुरुवात गर्न ढिलाइ भएको रहेछ। मैले पनि पाएको छैन, उनले भने।

किन भयो ढिलाइ?

महालेखा नियन्त्रकको कार्यालयका अनुसार राज्य कोषमा पैसा नभएका कारण नभइ नयाँ आर्थिक वर्षसँगै नयाँ लेखा प्रणालीको सुरुवात गर्दा तलब भक्ता विरणमा ढिलाइ भएको हो।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीका अनुसार क्रियाकलापमा आधारित लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम)को सुरुवात गर्न खोज्दा तलब वितरणमा ढिलाइ भएको देश सञ्चारलाई जानकारी दिए।

मैनालीले भने, ‘क्रियाकलापमा आधारित लेखा प्रणाली (एक्टिभिटी बेस्ड एकाउन्टिङ सिस्टम)को सुरुवात गर्न कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (सी–गास) र विद्युतीय भुक्तानी प्रणाली (ईएफटी)लाई संयोजन गर्नुपर्दा केही ढिलाइ भएको हो।’

सिस्टम अपडेट अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै सबै कर्मचारीले तलब प्राप्त गर्ने उनले जानकारी दिए। ६० वर्षदेखि प्रयोग गरिँदै आएको सरकारी लेखा प्रणालीअनुसार खर्च शीर्षकमा आधारित हुने र त्यसले तलब, भत्ता, इन्धन, औषधि, मसलन्द, भैपरि आउने जस्ता शीर्षकमा मात्र विवरण राखिन्थ्यो।

अब क्रियाकलापमा आधारित लेखा प्रणालीमा गएपछि सबै कारोबारको मसिनो गरी विवरण राख्नु पर्ने र त्यसले पारदर्शीता बढ्ने मैनालीले दाबी गरे। उनका अनुसार राज्यकोषबाट तलब भत्ता पाउने प्रत्येक व्यक्तिको अंग्रजी र नेपाली दुवै भाषामा नाम, थर, वतन, पद, कार्यरत रहेको कार्यालय जस्ता सम्पूर्ण विवरण मिलाउनु पर्ने भएका कारण ढिलाइ भएको दाबी गरे।

‘यसमा एउटा सामान्य गल्ती भयो भने पनि सिस्टमले स्वीकार गर्दैन। धेरै साथीहरुले दैनिक १८ घण्टासम्म काम गरिरहनुभएको छ। अब अन्तिम चरणमा पुगेका छौँ’, उनले भने। कोरोनाका कारण कर्मचारी आइसोलेसनमा बस्नु पर्दा पनि काममा बाधा पुगेको उनको गुनासो छ।

९ अर्ब पठाइयो

मैनालीले ९ अर्ब रुपैयाँ बिहीबार निकास गरिएको जानकारी दिए। ‘हिजो ९ अर्ब रुपैयाँ गइसकेको छ। आज पनि ठूलो रकम गएको छ। आजको विवरण अहिलेसम्म प्राप्त गरेको छैन, अब तबल भत्ता, पेन्सन जाने क्रम सुरु भयो’, उनले भने।

वाणिज्य बैंकबाट जाने तलबमा केही प्राविधिक समस्या देखिए पनि अरु बै‌ंकमा शुक्रबार साँझसम्म गुनासो नआएको बताए।

महालेखा नियन्त्रक मैनालीले ३९ वटा विदेशस्थित कुटनीतिक नियोगहरुलाई भने पछि नयाँ सिस्टममा रुपान्तरण गर्ने गरी पुरानै प्रणालीअनुसार पैसा पठाइ सकिएको जानकारी दिए।

कतिले कति पाउँछन् तलब भत्ता?

मैनालीका अनुसार राज्य कोषबाट मासिक रुपमा तलब, भत्ता, पेन्सनलगायत सुविधा पाँच लाखभन्दा बढी व्यक्तिले लिने गर्छन्।

जस बापत राज्यको ढुकुटीबाट मासिक रुपमा लगभग १२५ अर्ब रुपैयाँ जाने गरेको छ। दुई लाख ५० पेन्सन लिने पूर्वकर्मचारी रहेको महालेखा नियन्त्रकको रेकर्डले देखाउँछ। मैनालीका अनुसार पेन्सनबापत मात्रै राज्यले मासिक ५४ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ। तीनै तहमा गरी निजामति कर्मचारी मात्रै हाल ९५ हजार कार्यरत छन्। प्रकाश ढकालले देशसंचारमा लेखेका छन्।

kantipath बाट साभार गरिएको।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.