युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने ओलीको ‘ब्रिफिङ

1 min read

काठमाडौँ-

युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः दोहोर्‍याउने कि नदोहोर्‍याउने भन्ने विषयमा सत्तारुढ नेकपाका नेताहरुबीच एकमत नभइरहेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा खतिवडालाई दोहोर्‍याउने आफू निकट नेताहरुलाई ‘ब्रिफिङ’ गरेका छन्।

नेकपामा पछिल्लो पटक उत्पन्न विवादपछि खतिवडालाई नभई महासचिव विष्णु पौडेल या पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाइने अड्कलबाजी चलेका बेला प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने भन्दै आफू निकट नेताहरुसमक्ष ‘ब्रिफिङ’ गरेको पार्टीको उच्च स्रोतले बतायो।

यस्तै उनले आफूसँग असन्तुष्ट नेताहरुलाई पनि अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने संकेत गरेका छन्। स्रोतले भन्यो, ‘बाहिर जे जस्तो चर्चा भएपनि वास्तवमा प्रधानमन्त्रीको आँखामा अर्थमन्त्रीमा उपयुक्त पात्र युवराज खतिवडा बाहेक अरु छैनन्। त्यस कारण उहाँ हरहालतमा खतिवडालाई अर्थमन्त्री बनाउन चाहनुहुन्छ।’

‘एक व्यक्ति एक पद’ कार्यान्वयन गर्नुपर्ने खासगरी नेता नेपाल समूहबाट दबाब कायमै रहेका बेला पार्टी महासचिवको जिम्मेवारीमा रहेका नेता पौडेललाई सकेसम्म अर्थमन्त्री नबनाउने योजनामा ओली रहेको स्रोतको दाबी छ।

यता नेता पाण्डे अब्बल भएपनि आफ्नो खेमामा नपरेका र सुरुदेखि नै आफ्नो आलोचकका रुपमा चिनिएका कारण ओलीले पाण्डेलाई अर्थमन्त्री बनाइहाल्ने सम्भावना निकै कम रहेको स्रोतको भनाइ छ।

खतिवडाको अनुपस्थितिमा संघीयता लगायतका खर्चिला सवैधानिक प्रावधानका लागि खतिवडाको विशेष पहलमा विश्व बैंकबाट आइरहेको आर्थिक सहयोग कटौती हुने हो कि भन्नेमा ओलीलाई सबैभन्दा ठूलो डर रहेको पार्टी स्रोत बताउँछ।

अर्थमन्त्री खतिडाको निरन्तरतालाई लिएर पार्टीमा लामो समयदेखि अविश्वास र किचलो कायमै छ। राष्ट्रपतिद्धारा मनोनित भएर राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको गत वैशाख २० गते समयअवधि सकिएको थियो।

त्यसपछि ६ महिना सांसद नभएपनि मन्त्रीमा निरन्तरता पाउने संवैधानिक प्रावधानलाई प्रयोग गर्दै खतिवडालाई ओलीले अर्थमन्त्रीमा निरन्तरता दिएका थिए। खतिवडाको यही भदौ २० गते अर्थमन्त्रीमा रहने कानुनी हैसियत समाप्त हुँदैछ।

खतिवडाको राष्ट्रियसभा सदस्यको समय अवधि सकिनै लाग्दा गत वर्ष फागुन १४ गते ओलीले आफ्नो दलको सचिवालय बैठकमा नेकपाका अर्का नेता वामदेव गौतमलाई राष्ट्रपतिद्धारा सिफारिस गरेर राष्ट्रीय सभा सदस्य बनाउने र राष्ट्रिय सभाका सदस्य पनि प्रधानन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने निर्णयमा सहमति जनाएका थिए।

तर ओलीले त्यो निर्णय २४ घण्टा नबित्दै कार्यान्वयन नगर्ने धम्की उनीसँग असन्तुष्ट नेता नेपाललगायतलाई सुनाएका थिए। त्यसपछि उनले राष्ट्रपतिद्धारा मनोनित गरेर पठाउन न गौतमको न खतिवडाकै नाम पठाए।

बिना सांसद ६ महिना खतिवडालाई अर्थमन्त्री बनाएका ओलीले यो मामिलामा अब पार्टीको सल्लाह गर्ने सम्भावना पनि निकै कम छ। कोरोनाका कारण सचिवालयका दुई सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा बादल आइसोलेसनमा बस्नु परेको भन्दै भदौ १२ गते निर्धारित नेकपा सचिवालय बैठक स्थगित गरेर भदौ १८ मा सारिएको छ।

उक्त बैठकमा अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिने या नदिने भन्नेमा छलफल भएपनि ओली स्वंमले त्यसमा एकल निर्णय लिने देखिएको नेकपा स्रोत बताउँछ।

आफ्नै कार्यशैलीका ओलीले राजीनामा दिनुपर्ने भन्दै नेकवामा सुरु भएको झगडा समाधानका लागि गठित कार्यदलले भदौ ६ गते ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यअधिकार समेत समेटेर उनीहरुलाई प्रतिवेदन बुझाएपनि उनीहरुले त्यसलाई अन्तिम रुप दिन सकेका छैनन्।

पार्टी एकताका बेला दुई अध्यक्षले बराबरी हैसियतमा पार्टी सञ्चालन गर्ने सहमति गरेपनि त्यसको केही समयलगत्तै पार्टी नेतृत्वमा एकअर्काको हस्तक्षप अस्वीकार गर्दै आएका ओली र दाहालले गत मंसिर राष्ट्रपतिलाई सांक्षी राखेर सहमति गरेका थिए।

उक्त सहमतिमै घुमेर प्रतिवेदनमा ओली प्रतिनिधिसभाको यो कार्यकालभरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतःसरकारको काममा केन्द्रीत हुने र प्रचण्डले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरु सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने भन्ने उल्लेख छ। तर ओली र प्रचण्ड मिलनालाई पार्टीकै नेताहरुले विश्वास गर्न सकेका छैनन्।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.