भुजीखोला बाढीपहिरोले अभिभावक गुमाएका बालबालिकाको बिचल्ली न घर रह्यो, न परिवार,,, हेर्नुहोस्।

बागलुङ —

बाढीपहिरोमा आमा, बुबा र भाइ गुमाएकी १५ वर्षीया सुस्मिता विक भुजीखोलाको छेउमा बसेर एकोहोरो टोलाउँछिन् । बाढीपहिरोले बगाएको घरको भग्नावशेष हेरेर विरक्त मान्छिन् । आमा र भाइलाई ढुंगा र माटोले कता दबाएको छ, पत्तो छैन । ४२ वर्षका बुबा करबहादुरको शव भने भेटिएको छ । बुधबारको बाढीपहिरोले न उनको घर बाँकी राख्यो न अभिभावक ।

ढोरपाटन नगरपालिका–९ मा भुजीखोलामा पहिरो आएको दिन उनी साथीको घरमा गएकी थिइन् । बिहीबार बिहान घर फर्कंदा पहिरोको थुप्रोबाहेक केही थिएन । ज्ञानोदय मावि बोबाङमा १० कक्षामा पढ्ने उनी एक्लो भएकी छन् । विद्यालयका प्रधानाध्यापक यामबहादुर कायतका अनुसार आमा र भाइको शव भेटिने आशामा उनी तीन दिनदेखि पहिरो छेउमै बसेर टोलाइरहन्छिन् ।

रात परेपछि छिमेकीले बोलाएर राख्छन् । कायतको घरमा डेरा लिएर उनी र भाइ मदन सँगै पढ्न बसेका थिए । कोरोना कहरले विद्यालय बन्द भएपछि दुवै जना घर फर्किएका थिए । मेरो घरमा डेरा लिएर बस्दा पनि डराउँथे,छोराछोरी सँगै मिलेर बस्थे,कायतले भने,अहिले उनीहरू रातभर निदाउन सकेका छैनन् । सुस्मिताको बिचल्ली सम्झेर आफ्ना छोराछोरी पनि चिन्तित भएको उनले बताए ।

सुस्मिताका काका हेमबहादुर र काकीलाई पनि पहिरोले बगायो । हेमबहादुरका एक छोरा र एक छोरी जीवित छन् । छोरा आशिष र उनकी बहिनीको पनि आँखा अझै ओभाएको छैन । बुबाआमा नभएकाले उनीहरूलाई समेत सम्झाउने जिम्मा सुस्मिताको भएको छ । ‘आफैं सम्हालिन सकेकी छैन,भाइबहिनी पनि उस्तै पीडामा छन्, कसरी सम्झाउने ?’उनले रुँदै भनिन्,कान्छाबाबु र कान्छी आमा पनि भेटिनुभएको छैन ।’पहिरोले बगाएकाले जीवितै भेटिने आस सबैले मारिसकेका छन् ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.