कोरिया बाट फर्केर लगानी गर्नेको पिडा..

1 min read

दिपक पुडासैनि
कमाईको हिसाबले राम्रो मानिएको दक्षिण कोरिया मुलुकमा पाँच-दश वर्ष काम गरेर १–२ करोड रुपैयाँसहित फर्केका युवाले विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरूबाट अनुत्पादक क्षेत्र घरजग्गा, सेयर बजारका साथै उत्पादक क्षेत्र मध्यमस्तरका उद्योग, कृषि फार्म,ब्यवसाय जस्तै रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, यात्रु बसलगायतमा भइरहेको छ । त्यस्ता युवाहरूले आफूले गरेको लगानीबाट नेपाली समाज,अर्थतन्त्र साथै नेपाली बजारमा सुधारको बाटो खुल्ने अपेक्षा राखेका छन् । तर, उनीहरूको अपेक्षा पूरा हुन सकेको छैन ।

कोरिया बसाईका क्रममा लामो समय साना तथा मझौला उद्योगमा काम गरेर सिप र अनुभव संगालेका धैरै युवा हरु नेपालमा पनि तेस्तै किसिमको उद्योग सञ्चालनको इच्छा राखेर लगानी गर्दै छन्।तर झन्झटिलो उद्योग दर्ता प्रक्रिया, सम्बन्धित वस्तु उत्पादनको लागि चाहिने मेसिन, औजार, कच्चा पदार्थ,दक्ष इन्जिनियर, परिश्रमी जनशक्ति आदिको अभावका कारणले उत्पादित वस्तुलाई भारत र चीनबाट सरल तरिकाले भित्रने वस्तु को गुणस्तर र मुल्य सँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। नेपाली उपभोक्ता आफैं पनि विदेशमा जस्तो आफ्नो देशमा उत्पादित वस्तुको उपयोग गर्नुपर्छ भन्ने भावना ले प्रेरित पनि छैनन्। नेपाल सरकारले पनि यस विषयमा कुनै सहुलियत र सहयोगमा तेति ध्यान दिइएको पाइँदैन।

कृषिमा लामो समय काम गरेको अनुभव,सिप त छँदैछ, सरकारले अनुदान र सहुलियत दिने निर्णय गरेको विदेशमै रहँदा समाचारमा सुनेका युवाले जग्गा भाडामा लिएर फारम सुरु गर्छन्, तर ती अनुदान र सहुलियत त सरकारी कर्मचारीसँग मिलेमतोमा डकुमेन्ट तयार गर्ने, वास्तविक कृषि काम नगर्ने, सहकारी र कृषक समूह खोलेर नेतागिरी गर्ने मानिसहरूका लागि व्यवस्था गरिएको रहेछ भन्ने यथार्थ उनीहरूले पछि थाहा पाउँछन् ।

कतिपय युवाले घरजग्गा किन्छन् । सहरहरूमा नगरपालिकाहरूबाट अनुमति लिएर बनेका घर पनि असुरक्षित र नियमविपरीत होलान् भन्ने उनीहरूले अनुमानै गर्दैनन्, किनकि विदेशमा त्यस्तो हुँदैन। तर यहाँ दलालहरूले उनीहरूलाई त्यस्ता घरमा फसाउने गर्छन् । त्यस्तै,दलालहरूले यस्ता युवाहरूलाई जग्गा पनि बढी मूल्यमा भिडाउने गर्छन् । यहाँको सामाजिक परिवेशमा घुलमिल नभएका युवालाई सहजै विश्वासमा दिलाउन सकिने हुँदा दलालहरूले बढी कमिसन खाइदिने गर्छन् । यस्ता युवाले धेरै पैसा हाल्ने गरेका कारण जग्गाको भाउ पनि अस्वाभाविक बढिरहेकोछ ।
लगानी हिसाबले सहज भएपनि कमाई का हिसाब ले सरल नभएको क्षेत्र नेपाली पुँजी बजार (सेयर मार्केट)मा पनि यस्ता युवा हरूको आकर्षण रहेको छ।
घट्दो ट्रेण्डमा रहेको नेपाली पुँजीबजार मा लगानी गरिरहेका युवा हरुको पनि अवस्था सन्तोषजनक छैन।

ग्राहकमैत्री सेवा, हाइजेनिक खानेकुरा, सफासुग्घर, राम्रो सजावट र पर्याप्त ठाउँसहित सञ्चालनमा आएका धेरै रेस्टुरेन्ट विदेशमा सीप, परिश्रम,आचरण र सभ्यता सिकेका तथा त्यसकै आधारमा धन कमाएका युवाहरूको लगानीमा खुलेका छन् । नेपालमा राम्रो सेवा र नियमसंगत व्यवसायको अभाव देखेका युवाहरूले त्यसको अभाव पूर्ति गरेर व्यवसाय गर्दा पक्कै पनि मुनाफा हुन्छ भन्ने अपेक्षा राख्छन् । राज्यले आफूजस्ता व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नेछ भन्ने उनीहरूको बुझाइ हुन्छ ।युवाहरू रेस्टुरेन्ट खोल्ने ठाउँ खोज्दादेखि नै प्रताडित हुने गरेका छन्।
प्रायः सबै सम्भावित घरहरू स्थानीय दलालहरूको कब्जामा हुन्छन् । कुनै घर वा स्थानमा रेस्टुराँ खोल्न उपयुक्त लाग्यो र घरजग्गाधनीलाई भेट्ने प्रयास गरियो भने दलाल मात्र भेट्न सकिन्छ । दलालले ‘मैले यो ठाउँ ६ महिनादेखि भाडा तिरेर ओगटेर राखेको हो, तैंले व्यवसाय गर्ने भए नाफासहित १ वर्षको भाडा मलाई दे’ भन्छ । यसरी इमानदार र कर्मठ युवाको सुरु लगानीमै लागत बढ्न जान्छ ।
उनीहरू नियमसंगत व्यवसाय गर्ने भनेर स्थानीय तह, सरकारी निकाय र कर कार्यालयसम्म दर्ता र अनुमतिका लागि जान्छन् । रसिदमा उल्लेख भएभन्दा बढी पैसा र अनाश्यक बढी समय दिनुपर्दा उनीहरूको लागत पुनः वृद्धि हुन जान्छ । व्यवसाय सञ्चालनका दौरान नियम कानुनमा भएका झन्झट, अस्पष्टता र छिद्रहरूका कारण उनीहरू बेला–बेला जरिवानामा पर्छन् । सरकारी कर्मचारीले त्यस्ता पैसावाल व्यवसायीलाई आफ्नो आम्दानीको स्रोत बनाउने लक्ष्य बनाइरहेका हुन्छन् ।
अरू रेस्टुराँको तुलनामा उनीहरूले बढी अर्थात् सरकारले तोकेको न्यूनतम तलबमानभन्दा धेरै तलब ज्याला दिएर कामदार राख्छन्, नियुक्ति पत्र दिन्छन् । यसकै आधारमा उनीहरूको करको दायित्व स्वतः बढी हुन जान्छ । तर, ती कर्मचारीले उनीहरूले अपेक्षा गरेअनुसार ग्राहकमैत्री सेवा दिँदैनन् र उनीहरूको उत्पादकत्व पनि हुँदैन । कुराकानी, मोबाइल, अल्छीपन, कामचोर, ढिलासुस्ती, आराम, बिदा आदिमा बढी समय बिताउन चाहन्छन् । किनकि कामदारको मानसिकता ‘यो नेपाल हो, यहाँ यस्तै गर्ने हो’ भन्दा माथि उठेको छैन ।
मापदण्ड पूरा नगर्ने, गुणस्तरहीन वस्तु र सेवा दिने, नियमकानुन पालना नगर्ने र ग्राहकलाई ढाँट–छल गरेर ठगी गर्ने रेस्टुराँलाई राज्यले कुनै कारबाही गर्दैन । यस्तो अवस्थामा असल नियतले राम्रो सेवा दिने रेस्टुराँले कसरी मुनाफा गर्न सक्छन् ?

सार्वजनिक यातायात क्षेत्रमा सिण्डिकेट अन्त्यको खबर सँगै उत्साहित युवाहरु यस ब्यवसाय तर्फ पनि आकर्षित छन्।लामो तथा छोटो दूरीका सुविधासम्पन्न ठुला यात्रु बसहरुमा लगानी गर्ने आँट देखाई रहेका छन्। । कष्टपूर्ण यात्रा गर्न बाध्य नेपालीहरूका लागि सुविधायुक्त सेवा दिने उनीहरूको उद्देश्य हो । सुविधासम्पन्न लामा दुरिका बसको खरिद मूल्य सामान्य बसभन्दा दोब्बर पर्छ । सुपर डिलक्स बसले ४० प्रतिशतसम्म बढी भाडा लिन सक्ने व्यवस्था सरकारले २०७३ असोजमा बल्लतल्ल गरिदिएको छ । तर, मिनीबस र घुँडा ठोक्किने अन्य साँघुरा बसले जति आम्दानी गरिरहेका छन्, सुपर डिलक्सले त्यस्तो आम्दानी गर्न सकेका छैनन् ।
अरू गाडी यात्रीप्रति संवेदनहीन भई एक–दुई घण्टासम्म यात्री खोज्न भन्दै कलंकीमै फन्को मारिरहन्छन् । गल्लीमा पनि यात्री भरेर मात्र हिंड्छन् । आफू जाने गन्तव्यभन्दा फरक गन्तव्य भएका यात्रीलाई पनि झुक्याएर चढाउँछन् र बीच बाटोसम्मको भाडा लिएर ओरालिदिन्छन् । तोकेबमोजिम सेवा दिने सुपर डिलक्स बसहरूलाई सिट भर्न कठिन छ । नियम उल्लंघन गर्नेहरू ट्राफिक जामका बाबजुद चाँडो गन्तव्य पुग्छन् । नियम पालना गर्ने बसहरू निकै ढिला गन्तव्य पुग्छन् । यसले एकातर्फ बसको सञ्चालन खर्च बढ्छ भने अर्कातर्फ यात्रीको आकर्षण घट्छ ।
नयाँ बस किन्नेले बस व्यवसायी संघलाई प्रतिबस ५ लाखदेखि १५ लाख रुपैयाँ तिरेपछि यात्री बोक्ने अनुमति पाउँछन् । त्यसपछि पनि आफूखुसी सार्वजनिक सडकमा गुडाउन पाउँदैनन्, आफ्ना बसहरू व्यवसायी संघलाई जिम्मा लगाउनुपर्छ । संघको नियमअनुसार महिनामा बढीमा सात पटक मात्र चलाउन पाउँछन् । अरू दिन घरै थन्काएर राख्नुपर्छ । हरेक पटक चलाउँदा दुई यात्री बराबर शुल्क संघलाई बुझाउनुपर्छ । रिजर्भमा जाँदा चार यात्री बराबर शुल्क बुझाउनुपर्छ ।
आफ्ना सुविधासम्पन्न बसमा यात्रीलाई आकर्षित गर्न आफ्नो ढंगले टिकट बिक्री गर्न पाइँदैन । सबै टिकट संघमार्फत नै बिक्री हुन्छन्, जसका कमसल र कम लागतका बस छन्, उनीहरूले नै एजेन्टलाई बढी कमिसन दिएर धेरै टिकट बिक्री गराउने सम्भावना हुन्छ । यस्तो अवस्थामा धेरै लगानी गरेर राम्रो सेवा दिने बसले कसरी मुनाफा गर्न सक्छन् ?

अतः यहाँ बसोबास र कारोबार गर्ने भएपछि सामाजिक असुरक्षा, अपराध, डकैती, लुटपात, सरकारी आतंक आदि सबैबाट बच्न काम गरेर खाने युवाहरूसमेत विभिन्न संघ संगठनमा आबद्ध हुन बाध्य हुन्छन् । विभिन्न प्रयोजनका लागि भनेर एसोसिएसनहरूलाई पैसा दिन बाध्य हुन्छन् । असम्बन्धित व्यक्ति, समूह र संस्थाहरूलाई नगद चन्दा सहयोग दिन बाध्य हुन्छन् ।
यसरी व्यक्तिगत असल प्रयत्नबाट खुला प्रतिस्पर्धी व्यवसाय गरेर उत्कृष्ट सेवामार्फत मुनाफा गर्ने पवित्र उद्देश्य लिएका युवा दुर्गन्धित हिलोमा फस्न पुग्छन् । असल नियत भएका दुई–चार व्यक्तिले समाज र बजारलाई सुधार गर्न सक्दैनन् । असललाई संरक्षण र खराबलाई दण्ड गर्ने राज्यको नीति र त्यसको प्रभावकारी कार्यान्वयन नभएसम्म इमानदार युवाको सीप, ज्ञान, क्षमता, पसिना र धन यसैगरी खेर गइरहनेछ ।source: epssaathi
अन्ततःनेपाल फर्केर केही गर्छौं भन्ने सोच राख्ने युवाहरुले यी समस्याहरूका लागि अहिले देखि नै मानसिक रुपमा तयार हुनुपर्छ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.