ज्वाइँलाई छोरा बनाएर भारतीय नागरिकलाई नागरिकता दिइयो, वडाध्यक्षले एक लाख लिएको खुलासा

ताजा समाचार

भारतीय नागरिकलाई नेपाली बनाएर नागरिकता दिइएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन थालेको छ ।सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रविकुमार साहको सिफारिश जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेपछि यसबारे उजुरी परेको थियो । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रविकुमार साहलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान सुरु गरेको हो ।

यस्तो छ घटना विवरण :

सर्लाहीको बलरा नगरपालिका–८ स्थायी बासिन्दा हुन् मोहन ठाकुर । उनका दुई छोरीहरु थिए । जसमध्ये कान्छी छोरी थिइन्, संगीता देवी ।उनको विवाह भारतको जिल्ला सितामढी थाना मेजरगञ्ज पञ्चायत बलेडा निवासी जामुन ठाकुरसँग भयो । करिब ११ वर्षअगाडि उनीहरुको विवाह भएको स्थानीयले बताएका छन् ।उनीहरुको साथबाट ३ वटा छोरी र २ वटा छोराको समेत जन्म भइसकेको छ । जामुन बिहार र नेपाल दुबैतिर बस्ने गरेका थिए ।

त्यसपछि जामुन ससुराली घर सर्लाहीमा पनि पटकपटक आएर बस्न थाले । यसैक्रममा २०६९ सालमा तत्कालीन गढैया गाविसमा उनको जन्म दर्ता गराइयो ।२०६९ साल चैत ३० गते जामुन ठाकुरको नाम परिवर्तन गरी शिवजी ठाकुरको नाममा जन्मदर्ता गराइयो । जन्मदर्ता गराउँदा २०५० साल साउन ९ गते जन्म भएको र बुवाको नाम मोहन ठाकुर तथा आमाको नाम मनतोरिया देवी भनेर राखियो ।त्यसको ६ वर्षपछि २०७५ साल वैशाख १३ गते उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिइयो । त्यो प्रतिलिपि दिने व्यक्ति थिए २० वर्षदेखि सोही स्थानमा काम गर्दै आएका वडा सचिव सरोज साह । उनलाई परिवर्तित नाम शिवजी ठाकुर को थिए भन्ने कुरा राम्ररी थाहा थियो । तर पनि उनले ती व्यक्तिको जन्मदर्ताको प्रतिलिपि दिन कुनै आनाकानी गरेनन् ।

फोटो : जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिएपछि उनी त्यसलगत्तै नागरिकताका लागि सिफारिश लिन पुगे । वडा अध्यक्ष रविकुमार साहले ‘सर्जमिन मुचुल्का’ तयार पारेर शिवजी ठाकुर उर्फ जामुन ठाकुरको नाममा नागरिकता सिफारिश गरिदिए ।

वडा नम्बर ८ का वडा सदस्य कोमलकुमार ठाकुरका अनुसार वडाध्यक्ष साहलाई पनि जामुन ठाकुर मोहनको ससुरा भएको थाहा थियो । तर पनि उनले नागरिकताका लागि सिफारिश गरिदिए ।र, त्यही सिफारिशको आधारमा २०७५ भदौ २५ गते भारतीय नागरिक जामुन ठाकुरले शिवजी ठाकुरको नामबाट आफ्ना ससुरा मोहन ठाकुरलाई बुवा बनाएर नेपाली नागरिकता लिन सफल भए ।२०७५ भदौको उक्त घटनाबारे २०७६ असारमा पोल खुल्यो । मोहन ठाकुरले टोलकै कुनै व्यक्तिलाई ज्वाइँको नागरिकता बनाउन २ लाख रुपैयाँ खर्च भएको बारे बताए, त्यसपछि मात्रै शिवजी ठाकुरको नाममा जारी भएको नागरिकता र वडाको सिफारिशबारे खोजबिन सुरु भयो । त्यसपछि गएको साउन २ गते अख्तियारमा सो सम्बन्धमा उजुरी पर्यो । र, अख्तियारले छानबिन थाल्यो । अनि मात्रै उक्त पत्र जिल्ला प्रशासन कार्यालय हुँदै वडा कार्यालयसम्म आइपुग्यो ।

फोटो : अख्तियारमा परेको उजुरीको प्रतिलिपि

वडा अध्यक्षले १ लाख लिएको आरोप

मोहन ठाकुरले आफ्नो ज्वाईँलाई छोरा बनाएर नागरिकता दिलाउन करिब २ लाख रुपैयाँ खर्च गरेको वडा सदस्य र स्थानीयसँग बताइसकेका छन् । वडा नम्बर ८ का वडा सदस्य कोमल कुमार ठाकुरका अनुसार यसबारे खोजबिन सुरु भएपछि उनले शिवजी भन्ने जामुन ठाकुर आफ्नो छोरा नभएर ज्वाइँ भएको र उनी भारतीय नागरिक भएको बताइसकेका छन् ।मुखिया (वडाध्यक्ष)सँग कुराकानी गरी अर्को चुनावमा सघाउने र नागरिकता दिलाएवापत २ लाख रुपैयाँसम्म खर्च गर्ने भनी उनले सिफारिश लिएका थिए । त्यसका लागि सिफारिश गर्न वडा अध्श्यक्ष एक्लैले १ लाख रुपैयाँ लिएको मोहनले बताएका थिए ।

वडा अध्यक्ष रविकुमार साहले सर्जमिन मुचुल्का बनाउन पनि आफू अनुकुलकै व्यक्तिहरु प्रयोग गरेका थिए । ‘केही परे म छु,’ भन्दै स्थानीय अनपढ व्यक्तिहरुलाई उक्त सर्जमिन मुचुल्कामा सिफारिश गर्न लगाएको एक स्थानीयले बताए ।सिफारिश भएपछि जिल्ला प्रशासन कार्यालयले शिवजी ठाकुरको नाममा भारतीय नागरिक जामुन ठाकुरलाई नागरिकता प्रदान गरियो ।

हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय सर्लाहीबाछट शिवजी ठाकुरको नाममा जारी भएको नागरिकताको फोटोकपी

जामुन र संगीताको भारतमै मतदाता नामावली

नेपालमा शिवजी ठाकुरका नामबाट नागरिकता लिएका भारतीय नागरिक जामुन ठाकुरको भारतको निर्वाचनमा समेत मतदाता नामावली रहेको पाइएको छ ।बिहारको बथनाहा मतदान स्थलमा मतदान गर्ने गरी जामुन ठाकुर र संगीता देवीको मतदाता नामावली भेटिएको छ ।जामुनको आमाको नाम सुमित्रा देवी र बुवाको नाम शंकर ठाकुर रहेको पाइएको छ ।त्यसैगरी संगिताले पनि भारतमै आफ्नो मतदाता नामावली लेखाएको भेटिएको छ ।

हेर्नुहोस् भारतीय मतदाता नामावलीको सूची

आरोपी फरार

पुस ११ गते जिल्ला प्रशासन कार्यालयबाट चिठी आएलगत्तै ज्वाईँलाई छोरा भनी नागरिकता प्रदान गराउने मोहन ठाकुर, निजकी श्रीमती मनतोरिया देवी र ज्वाईँ भारतीय नागरिक जामुन ठाकुर फरार भएका छन् । प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउने भएपछि उनीहरु भारतको पञ्जाब पुगेका छन् ।

वडा अध्यक्ष तारेखमा रिहा, विस्तृत छानबिन सुरु

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीका अनुसार यसबारे बिस्तृत अनुसन्धान सुरु भएको छ । सोमबार मात्रै वडाध्यक्ष रविकुमार साह जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् र उनले आफ्नो बयान दिएका छन् । बयानमा आफूले केही गल्ती नगरेको र ती व्यक्तिबारे आफूलाई पूर्व जानकारी नभएको तर स्थानीयले सर्जमिन मुचुल्का गरेकाले नागरिकताको सिफारिश गरेको बयान दिएका छन् । त्यसलगत्तै बोलाएको समयमा आउने गरी उनलाई तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी जिसीले रातोपाटीलाई बताए ।त्यसैगरी सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने स्थानीयलाई पनि म्याद तामेल गरिएको उनले बताए । १५ दिनभित्र हाजिर भएर बयान दिनु भनी म्याद तामेल गरिएको जिसीले बताए ।

भारतीय नागरिक भएको कागजातबारे के भन्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा सिडियो जिसीले यसबारे अनुसन्धान भइरहेकाले थप केही बताउन नसकिने भन्दै मतदाता नामावलीबारे गृह मन्त्रालय हुँदै परराष्ट्र र भारतीय दूतावासमार्फत् आधिकारिकता बारे बुझ्ने काम भइरहेको उनले बताए ।

वडाध्यक्ष भन्छन् : सब झुठ हो, पैसा लिएको छैन

आरोपी मोहन ठाकुरले स्थानीय बासिन्दा र वडा सदस्यसँग पनि ज्वाइँको लागि नागरिकता बनाउन २ लाख रुपैयाँ खर्च भएको र त्यसमध्ये एक लाख रुपैयाँ वडा अध्यक्षलाई मात्रै दिएको भन्दै बयान दिएपछि वडा अध्यक्ष पनि केही दिन सम्पर्कविहीन रहेको एक वडा सदस्यले बताए । तर उम्कन नसकिने अवस्था आएपछि पुस २८ गते जिल्ला प्रशासन कार्यालय पुगेर आफ्नो बयान दिएको र तारेखमा छुटेका छन् ।‘तपाईंले पैसा लिएर नागरिकताको सिफारिश गरेको कुरा छ, यसमा तपाइँको प्रतिक्रिया के छ ?,’ भन्ने रातोपाटीको प्रश्नमा उनले यो कुरा सतप्रतिशत झुट भएको बताए । उनले भने, ‘मैले जन्म दर्ता प्रमाणपत्र र स्थानीयको सर्जमिन मुचुल्काको आधारमा नागरिकताको लागि सिफारिश गरेको हुँ । मैले कोहीसँग रकम लिएको छैन । यो सरासर झुठो कुरा हो । त्यो कुरा प्रमाणित गर्न सक्नुपर्यो नि !’‘सर्जमिन गर्नेहरुलाई पनि केही हुँदैन म छु भनेर फकाएको भन्ने आरोप छ नि ?,’ भन्ने रातोपाटीको प्रश्नमा उनले आफूले कसैलाई नभनेको र मोहनले ल्याएको मान्छेबाट नै वडा कार्यालय र प्रहरी कार्यालयमा सर्जमिन गरिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे ।

स्रोत : रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *